बाँके: बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय (यु–१८) छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८३ जेठको २३ गतेदेखि सुरु हुने भएको छ । बाँके जिल्ला फुटबल संघले हरेक वर्ष आयोजना गर्ने गरेको प्रतियोगितामा बाँके जिल्लाका ८ वटा स्थानीय तहका विद्यालयहरुको सहभागिता रहनेछ । नेपालगञ्ज रंगशालामा एक सातासम्म चल्ने प्रतियोगिता नेपालगञ्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको हो । बाँके जिल्ला फुटबल संघले मेयर कप फुटबल दुई दशकदेखि आयोजना गर्दै आएको प्रतियोगिता हो ।
सबैभन्दा पुरानो प्रतियोगिताले विद्यालय स्तरबाट नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्नमा महत्वपूर्ण सहयोग गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताए । प्रतियोगितामा करिब ३० वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशी भने संघले छिट्टै सार्वजनिक गर्ने जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, विधागत रुपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
विद्यालय स्तरका प्रतियोगिताले हरेक वर्ष नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने भएकोले मेयर कपलाई प्राथमिकताका साथ हरेक वर्ष आयोजना गरिरहेको बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले जनाए । बाँके जिल्लाको फुटबल स्तरलाई बढाउन समेत मेयर कप प्रतियोगिताले सहयोग पुग्ने महासचिव खत्रीले बताए । २७ वटा विद्यालयको सहभागिता रहेको गत वर्षको बाँके जिल्ला स्तरीय मेयर कप फुटबलको पुरुषतर्फ ब्राइटल्याण्ड र महिलातर्फ नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल च्याम्पियन बनेका थिए ।
ब्राइटल्याण्डले सडनडेथमा कोहलपुरको ग्रीनपिस माविलाई हराउँदै च्याम्पियन बनेको थियो भने महिलातर्फ नेपालगञ्ज सेन्ट जेभियर्सले आदर्श मावि नेपालगञ्जलाई ४–० ले हराउँदै उपाधि जितेको थियो । प्रतियोगितामा पुरुषतर्फ ब्राइटल्याण्डका सिरिस रावत र महिलातर्फ नेपालगञ्ज सेन्ट जेभियर्सकी सृष्टि थारु सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।











