बाँके: बाँके जिल्लामा केही दिनयता तातो हावा (लु) चल्न थालेपछि भीषण गर्मी बढेको छ र जनजीवन अस्तव्यस्त बनेको छ । आगोजस्तै पोल्ने तातो हावाका कारण बाँकेसहित पश्चिम नेपालका तराई क्षेत्रका जिल्लाहरूको जनजीवन प्रभावित भएको हो ।
बिहान ७ बजेदेखि नै घाम चर्किने, शरीर पोल्ने तातो हावा चल्ने र पसिनाले शरीर भिजेर नुहाएजस्तै हुने अवस्थाका कारण स्थानीयको दैनिक जीवन अत्यधिक प्रभावित भएको छ ।
भीषण गर्मीकै कारण दिउँसोको समयमा सवारी साधन र सर्वसाधारणको आवतजावत कम हुँदा बजार र ग्रामीण क्षेत्र सुनसान देखिने गरेको नेपालगन्ज त्रिभुवन चोकका व्यवसायी जावेद राईले बताए ।
उनले धेरै वर्षपछि जेठको सुरुमै यस्तो भीषण गर्मी देखिएको भन्दै स्थानीयहरू हैरान भएको सुनाए ।
यस्तै नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले एक्कासी बढेको गर्मी र लुका कारण जनजीवन अस्तव्यस्त बनेको बताउँदै सबैभन्दा बढी समस्या मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्गलाई परेको उल्लेख गरे।
उनका अनुसार अत्यधिक गर्मीका कारण दैनिक ज्यालादारी कामदार र मजदुरहरू सबैभन्दा बढी प्रभावित बनेका छन् । अटो रिक्साचालक र ठेला चालकहरूले पनि गर्मीका कारण काम गर्न कठिनाइ भएको बताएका छन् ।
भाडामा अटो रिक्सा चलाएर दिनभर गुजारा गर्ने नेपालगन्ज–१ का रशीद हलवाईले अत्यधिक तापका कारण दिउँसो सडकमा यात्रु नपाइने भएकाले आम्दानी घटेको बताए ।
उनले बजारमा यात्रु निकै कम भेटिने भएकाले अटो रिक्सा चलाउन समस्या भएको र सामान्यतया व्यस्त रहने सडक र चोकहरू पनि अहिले सुनसान बनेको बताए ।
तातो हावाका कारण बढ्दो गर्मीलाई ध्यानमा राख्दै चिकित्सकहरूले दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न तथा अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने र हल्का सुती कपडा प्रयोग गर्न सुझाव दिएका छन् ।
भेरी अस्पतालका चिकित्सक डा. विपिन आचार्यले तातो हावा र अत्यधिक गर्मीको समयमा शरीरमा पानीको कमी हुन नदिन पटक–पटक पानी, जुस वा अन्य झोल पदार्थ सेवन गर्न सर्वसाधारणलाई आग्रह गरेका छन ।











