बर्दिया: बर्दिया राष्ट्रिय निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न निकुञ्जआसपासका बस्ती क्षेत्रमा तारजाली विस्तार गरेको छ । वन्यजन्तुको आक्रमणबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यले निकुञ्जले मध्यवर्ती क्षेत्रका विभिन्न गाउँमा तारजाली जडानको काम गरेको छ ।
निकुञ्जका अनुसार हालसम्म मध्यवर्ती क्षेत्रमा करिब १६२ किलोमिटर क्षेत्रमा तारजाली जडान सम्पन्न भइसकेको छ । वन्यजन्तु बस्तीमा प्रवेश गर्न नपाऊन् भन्ने उद्देश्यले यो संरचना निर्माण गरिएको निकुञ्जले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी सरोजमणि पौडेलले निकुञ्ज र मानव बस्तीबिचको द्वन्द्व न्यूनीकरणका लागि तारजाली प्रभावकारी बन्दै गएको बतार। उन्सका अनुसार ठाकुरबाबा नगरपालिका अन्तर्गत ठाकुरद्वारा, गोदाना, सैनवार, भुरीगाउँ, मधुवन नगरपालिकाको सूर्यपटुवा, खाता कोरिडोर, डल्ला, गेरुवा गाउँपालिका तथा सुर्खेतको तेलपानी क्षेत्रमा तारजाली जडान गरिएको छ ।
स्थानीयवासीले पनि तारजालीले केही हदसम्म राहत मिलेको बताएका छन् । ठाकुरबाबा नगरपालिका–४, ठाकुरद्वाराका स्थानीय रामजी थापाले वन्यजन्तु बस्ती पस्ने क्रम घटेको अनुभव सुनाउँदै तारजाली उपयोगी भएको बताए । त्यसै गरी मधुवन नगरपालिका–२, खाता क्षेत्रका शरद राईले वन्यजन्तुको आवतजावत नियन्त्रण हुँदा स्थानीयले सुरक्षित महसुस गर्न थालेको बताए ।
बर्दिया निकुञ्जआसपासका मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा मानव–वन्यजन्तु द्वन्द्वका धेरै घटना हुने गरेका छन् । निकुञ्ज र बस्ती एकअर्कासँग जोडिएकाले वन्यजन्तु बस्तीमा प्रवेश गर्ने समस्या यहाँ रहँदै आएको छ ।
निकुञ्जका अनुसार अझै पनि केही मध्यवर्ती तथा सामुदायिक वनसँग जोडिएका गाउँमा यो समस्या उत्तिकै छ । पछिल्लो समय मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्न थालेपछि डिभिजन वन कार्यालय बर्दिया र निकुञ्ज प्रशासनले संयुक्त रूपमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिरहेका छन् । स्थानीयवासीले भने तारजालीसँगै दीर्घकालीन सुरक्षा उपाय र क्षतिपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउन माग गरेका छन् ।











