बाँके: बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित श्री गणेश माध्यमिक विद्यालयमा लामो समयदेखि चलिरहेको विवाद र नेतृत्वविहीनताको अन्त्य गर्दै नयाँ विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरिएको छ।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष रामसिंह ओलीको अध्यक्षता तथा वडा नं. ९ का वडा अध्यक्ष सोहनलाल थारुको प्रमुख आतिथ्यतामा सम्पन्न अभिभावक भेलाले ४ सदस्यीय विद्यालय व्यवस्थापन समिति निर्विरोध चयन गरेको हो।
नवनिर्वाचित समितिको अध्यक्षमा तुलसी खड्का डाँगी चयन भएका छन् भने सदस्यहरूमा रत्नकुमारी घर्ती मगर, कमला बस्नेत र छविकला वली थारु रहेका छन्।

भेलामा प्रारम्भमा ११ जना आकांक्षी देखिए पनि छलफल, सहमति र अभिभावकहरूको सुझावका आधारमा अन्ततः सर्वसम्मत रूपमा समिति चयन गरिएको बताइएको छ।
कार्यक्रममा अक्षयकोष दाता परिवारका सदस्य अमरबहादुर वली र कृष्ण केसी नमुनाले प्रस्तुत गरेको प्रतिवेदनमाथि विस्तृत छलफल भएको थियो। प्रतिवेदनमा विद्यालयमा विगतमा भएका सकारात्मक कार्यहरूको समीक्षा गर्दै प्रक्रिया मिचाइ, अनियमित सरुवा तथा प्रशासनिक अस्थिरताजस्ता विषयप्रति गम्भीर ध्यानाकर्षण गराइएको थियो।
भेलामा सहभागी अभिभावक तथा आमन्त्रित अतिथिहरूको सक्रिय सहजीकरण र सुझबुझपूर्ण निर्णयका कारण विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा चयन हुन सफल भएको जनाइएको छ।
अक्षयकोष दाता परिवारले “विद्यालय अभिभावकको संस्था हो, राजनीतिक अखडा होइन” भन्ने धारणा राख्दै दलगत स्वार्थभन्दा माथि उठेर विद्यार्थीको भविष्य केन्द्रित नेतृत्व चयन गरिएको जनाएको छ।

भेलामा निवर्तमान विद्यालय व्यवस्थापन समितिका ६ जना अध्यक्ष, चन्दादाता परिवारका ३ जना, अक्षयकोष दाता परिवारका २ जना तथा निवर्तमान सल्लाहकार २ जना गरी १४ जना विशेष आमन्त्रितहरूको उपस्थिति रहेको थियो। साथै विद्यालयका अभिभावक, शिक्षाप्रेमी तथा स्थानीय भद्रभलादमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले “जब गाउँ एक हुन्छ, विद्यालय उज्यालो हुन्छ। जब विद्यालय उज्यालो हुन्छ, पुस्ता उज्यालो हुन्छ” भन्ने सन्देशसहित एकताको प्रतिबद्धता व्यक्त गरेका थिए।











