सल्यानमा अवैध तीन नाल भरुवा बन्दुक फेला – Buletnews
सल्यानमा अवैध तीन नाल भरुवा बन्दुक फेला

पछिल्लो समय ग्रामीण तथा वन क्षेत्रमा लुकाइराखिएका घरेलु तथा अवैध हातहतियार फेला पर्ने क्रम बढ्दै

  • बुलेट न्युज

सल्यान: सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा लुकाइराखिएको अवैध तीन नाल भरुवा बन्दुक फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अवैध भरुवा बन्दुक रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी वनगाडबाट खटिएको टोलीले बुधबार विशेष खोजतलास तथा निगरानी गरेको थियो ।

खोजीका क्रममा सामुदायिक वनभित्र लुकाइराखिएको भरुवा बन्दुकका तीन वटा नाल साबिक अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

प्रहरीले फेला परेका भरुवा बन्दुकका नाल नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

पछिल्लो समय ग्रामीण तथा वन क्षेत्रमा लुकाइराखिएका घरेलु तथा अवैध हातहतियार फेला पर्ने क्रम बढ्दै गएको भन्दै प्रहरीले यस्ता गतिविधिबारे सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ । अवैध हातहतियार नियन्त्रण तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन जिल्लाभर निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्