शैक्षिक सामग्री वितरणमार्फत बर्दियाका बालबालिकाको शिक्षामा सहयोग – Buletnews
शैक्षिक सामग्री वितरणमार्फत बर्दियाका बालबालिकाको शिक्षामा सहयोग

शैक्षिक सामग्री उपलब्ध गराएर बालबालिकामा आत्मविश्वास अभिवृद्धि गर्ने, विद्यालयमा नियमित सहभागिता बढाउने बिस्वास

  • बुलेट न्युज

बर्दिया:  बाँके युनेस्को क्लबले बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सहयोग सामग्री वितरण गरेको छ ।

क्लबले प्लान इन्टरनेसनल नेपालको साझेदारीमा उपरोक्त पालिकाका विभिन्न विद्यालयमा अध्ययनरत प्रायोजित तथा आर्थिक रूपमा कमजोर अवस्थाका बालबालिकाहरूको शैक्षिक गुणस्तर बढाउन उनिहरुलाई आवश्यक शैक्षिक सामग्री वितरण गरेको हो ।

शिक्षा केवल अधिकार मात्र नभई उज्ज्वल र सशक्त भविष्यको आधार पनि हो भन्ने विश्वासका साथ विपन्न तथा जेहेन्दार बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले बताए।

शैक्षिक सामाग्री वितरणको क्रममा गुलरिया नगरपालिका वडा नं. १२ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ७ जना र गोरखकाली विद्यालयका २ जना गरी ९ जना विद्यार्थीलाई सहयोग प्रदान गरिएको थियो ।

त्यसैगरी मधुवन नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालयका १४ जना तथा बढैयाताल गाउँपालिका वडा नं. ७ स्थित भगवती संस्कृत माध्यमिक विद्यालयका ५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको जनाउँदै सो कार्यक्रमबाट कुल २८ जना विद्यार्थी लाभान्वित भएको क्लबले जनाएको छ ।

प्लान इन्टरनेसनल नेपालका अनुसार शैक्षिक सामाग्री वितरण कार्यक्रमले आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस् भन्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ । आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएर बालबालिकामा आत्मविश्वास अभिवृद्धि गर्ने, विद्यालयमा नियमित सहभागिता बढाउने तथा सकारात्मक सिकाइ वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको प्लानले जनाएको छ ।

यस्ता कार्यक्रममार्फत बालबालिकाको शिक्षामा निरन्तर लगानी गर्दै उनीहरूको उज्ज्वल भविष्य निर्माण, अवसरको सुनिश्चितता तथा सकारात्मक परिवर्तनका लागि सहकार्यलाई अझ सशक्त बनाउँदै जाने योजना र उदेश्य रहेको बाँके युनेस्को क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्