कोहलपुर, बाँके: एक समय थियो, एसईई (तत्कालीन एसएलसी) उत्तीर्ण गरेलगत्तै उच्च शिक्षाको खोजीमा संघीय राजधानी काठमाडौँ पुग्ने विद्यार्थीहरूको लर्को लाग्थ्यो। राजधानीमै मात्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने धारणा समाजमा गहिरोसँग स्थापित थियो। तर समयसँगै परिस्थिति फेरिएको छ। मोफसलका सहरहरूमा समेत गुणस्तरीय शैक्षिक संस्था, दक्ष शिक्षक र आधुनिक शिक्षण पद्धतिको विकास भएसँगै विद्यार्थीहरू आफ्नै क्षेत्रमै उत्कृष्ट शिक्षा हासिल गर्न सक्ने अवस्थामा पुगेका छन्।

यही परिवर्तनको एउटा जीवन्त उदाहरण बनेको छ बाँकेको कोहलपुर–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुल। विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूको उत्साह र आकर्षणले अझै पनि गोरखाप्रतिको विश्वास र प्रतिष्ठालाई उजागर गरेको छ।
विद्यालयले विज्ञान र व्यवस्थापन संकायमा जम्मा १२० विद्यार्थीलाई मात्र भर्ना गर्ने व्यवस्था गरे पनि यस वर्ष २३१ जना विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएका छन्। विद्यालयकी प्रिन्सिपल साधना थापाका अनुसार विज्ञान संकायका लागि ८० र व्यवस्थापन संकायका लागि ४० सिट निर्धारण गरिएको छ। तर विज्ञान संकायतर्फ मात्रै १६७ जना तथा व्यवस्थापन संकायतर्फ ६४ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन्।

यसरी सीमित सिटका लागि दोब्बरभन्दा बढी विद्यार्थीको प्रतिस्पर्धाले विद्यालयप्रतिको आकर्षण अझै बलियो रहेको पुष्टि गरेको छ। विद्यालयले प्रवेश परीक्षाको नतिजा आइतबार दिउँसो १ बजे सार्वजनिक गर्ने जनाएको छ।
प्रवेश परीक्षाका दिन आफ्ना छोराछोरीलाई विद्यालयसम्म पुर्याउन आएका अभिभावकहरूको उत्साह पनि कम थिएन। अभिभावक मोहन थापाले गोरखा युनाइटेड पब्लिक स्कुल घरआँगनकै विद्यालय भए पनि यसको शैक्षिक गुणस्तर राजधानीका नाम चलेका विद्यालयभन्दा कम नभएको विश्वास व्यक्त गरे।
“विज्ञान पढाउन भनेर छोराछोरीलाई काठमाडौँ पठाउँदा १४ देखि १६ लाख रुपैयाँसम्म खर्च हुने अवस्था छ,” उनले भने, “तर गोरखामा तुलनात्मक रूपमा निकै कम खर्चमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने विश्वासले हामीलाई आफ्ना सन्तान यहीँ पढाउन प्रेरित गरेको हो।”

विद्यालयमा विज्ञान संकायतर्फ कम्प्युटर साइन्स र जीवविज्ञान तथा व्यवस्थापन संकायतर्फ बिजनेस म्याथमेटिक्स र कम्प्युटर विषयको अध्यापन हुँदै आएको छ। आधुनिक शैक्षिक व्यवस्थापन, अनुशासित वातावरण र उत्कृष्ट नतिजाका कारण विद्यालयले लामो समयदेखि आफ्नो अलग पहिचान बनाउँदै आएको छ।

कुनै समय साविक मध्यपश्चिमाञ्चल क्षेत्रमै उत्कृष्ट नतिजा हासिल गरेर चर्चामा आएको गोरखा युनाइटेड पब्लिक स्कुलप्रति विद्यार्थी र अभिभावकहरूको भरोसा आज पनि उत्तिकै कायम देखिन्छ। बदलिँदो शैक्षिक परिवेशमा राजधानीको मोह घट्दै जाँदा कोहलपुरमै गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा गोरखाले आफ्नो साख अझ मजबुत बनाइरहेको छ।











