राप्ती सोनारी, बाँके: राप्ती सोनारी गाउँपालिका–४ मा निर्माणाधीन ६४ मेट्रिक टन क्षमताको आलु भण्डारण केन्द्र (शीत भण्डार) को गाउँपालिकाको टोलीले स्थलगत अनुगमन गरेको छ।
निर्माणाधीन शीत भण्डारको प्रगति, गुणस्तर तथा बाँकी रहेका कार्यहरूको अवस्थाबारे जानकारी लिन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका प्रवक्ता, वडा नं. ४ र वडा नं. ८ का वडाध्यक्ष तथा सचिवालयका प्रतिनिधिहरूसहितको टोलीले अनुगमन गरेको हो।
अनुगमनका क्रममा निर्माण कार्यको हालसम्मको प्रगति सन्तोषजनक रहेको बताउँदै टोलीले बाँकी रहेका कामहरू तोकिएको समयसीमाभित्र गुणस्तरीय ढंगले सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएको जनाएको छ। साथै निर्माण सामग्रीको गुणस्तर र प्राविधिक मापदण्डलाई पूर्ण रूपमा पालना गर्न समेत आग्रह गरिएको छ।
गाउँपालिकाका जनप्रतिनिधिहरूले शीत भण्डार सञ्चालनमा आएपछि स्थानीय किसानहरूले उत्पादन गरेको आलु तथा अन्य कृषि उपज सुरक्षित रूपमा भण्डारण गर्न सक्ने र बजार व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। यसबाट कृषि उत्पादनमा हुने क्षति न्यूनीकरण हुनुका साथै किसानको आम्दानी वृद्धि गर्न समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
राप्ती सोनारी गाउँपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादनको संरक्षण तथा किसानको हितलाई केन्द्रमा राखेर निर्माणाधीन शीत भण्डारलाई यथाशीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम अघि बढाइरहेको जनाएको छ।










