बर्दिया : बर्दियाबाट कृष्णसारलाई चितवनमा स्थानान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
रत्ननगर नगरपालिका–९ स्थित टिकौलीमा बनाइएको संरक्षण केन्द्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार ल्याउने तयारी भइरहेको छ।
वन तथा वातावरणमन्त्री गीता चौधरीले कृष्णसार स्थानान्तरणलाई प्राथमिकतामा राखेपछि सात वर्षअघि रत्ननगर नगरपालिकाले अघि बढाएको अभियानले मूर्तरूप पाउन लागेको छ। रत्ननगर नगरपालिकाले टिकौलीमा कृष्णसार राख्न आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न गरिसकेको नगर प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिए।
उनले भने, ‘तारजालीलगायत अन्य भौतिक पूर्वाधार पूरा भइसकेको छ। नगरपालिकाकै खर्चमा कृष्णसार ल्याउन लागिएको हो।’
उनका अनुसार पहिलो चरणमा १२ पोथी र ६ भाले गरी १८ वटा कृष्णसार ल्याइने तयारी गरिएको छ। कृष्णसारका लागि तयार गरिएका क्षेत्रमा घाँसे मैदानको छेउछाउमा रहेका केही रूख व्यवस्थापन गर्ने काम भइरहेको उनले बताए। केन्द्र निर्माणमा हालसम्म करिब रु. तीन करोड खर्च भइसकेको छ।
केन्द्र नजिकै रहेको खगेरी खोलाको पानी उपयोग गरेर बोटिङ सञ्चालन गर्ने र पश्चिम चितवनतर्फ रहेको नहर सञ्चालनमा थप सहजता ल्याउने योजना रहेको बताए। टिकौलीस्थित पञ्चकन्या सामुदायिक वनको १८ हेक्टर क्षेत्रफलमा तारबार, घाँसेमैदान र दुईवटा पोखरी निर्माण भइसकेका छन्। डिभिजन वन कार्यालय चितवनका प्रमुख डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले कृष्णसार स्थानान्तरणका लागि अन्तिम चरणका काम भइरहेको बताए।
आचार्यका अनुसार १२९ वटा रूख व्यवस्थापन गर्नुपर्ने देखिएको छ। विसं २०७७ मा अध्ययन सुरु गरी २०७८ देखि कृष्णसार ल्याउन आवश्यक पूर्वाधार निर्माणको काम थालिएको थियो। कृष्णसार नेपालको संरक्षित वन्यजन्तुको सूचीमा रहेको लोपोन्मुख प्रजाति हो। विसं २०३३ मा बर्दियाको खैरापुर क्षेत्रमा यसको सङ्ख्या नौवटामा सीमित रहेको थियो।
संरक्षणका विभिन्न प्रयासपछि यसको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। वन तथा वातावरण मन्त्रालयका अनुसार विगतमा सदर चिडियाखाना र खैरापुरबाट गरी ४२ वटा कृष्णसार कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत हिरापुर फाँटामा स्थानान्तरण गरिएको थियो।
हाल खैरापुर र शुक्लाफाँटासहित प्राकृतिक वासस्थानमा कृष्णसारको सङ्ख्या ५०० भन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ।










