ढकेरी, बाँके: राप्तीसोनारी गाउँपालिका–९ स्थित श्री गणेश माध्यमिक विद्यालय, ढकेरी मा नवनियुक्त प्रधानाध्यापक हिरालाल नेपाली ले पदभार ग्रहण गर्दै विद्यालयको प्रशासनिक नेतृत्व औपचारिक रूपमा सम्हाल्नुभएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ बाँकेको मिति २०८३ जेठ २० गतेको पत्रानुसार शिक्षा ऐन, २०२८ (आठौं संशोधन) तथा शिक्षा नियमावली, २०५९ (दसौं संशोधन) को नियम ९३ को उपनियम (७) बमोजिम नेपालीलाई पाँच वर्षका लागि प्रधानाध्यापक पदमा नियुक्त गरिएको हो।
विद्यालयको बैठक हलमा आयोजित पदभार ग्रहण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी खड्का डाँगी तथा निमित्त प्रधानाध्यापक टिकाप्रसाद थारु ले संयुक्त रूपमा टीका र माला लगाएर नवनियुक्त प्रधानाध्यापकलाई स्वागत तथा बधाई ज्ञापन गर्नुभएको थियो।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रामसिंह वली, अक्षय कोष दाता परिवारका सदस्य अमरबहादुर वली, निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि रेग्मी लगायत शिक्षाप्रेमी, समाजसेवी व्यक्तित्व तथा विद्यालयका शिक्षक–कर्मचारीहरूको उपस्थिति रहेको थियो। उपस्थित सबैले पुष्पगुच्छा तथा शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभेच्छा दिएका थिए।
पदभार ग्रहण गरेलगत्तै प्रधानाध्यापक नेपालीले विद्यालयको समग्र विकासका लागि सार्वजनिक प्रतिबद्धता व्यक्त गर्दै नयाँ जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्ने, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षा विकास तथा समन्वय इकाइ बाँके, राप्तीसोनारी गाउँपालिका, वडा नं. ९, शिक्षक–कर्मचारी, अभिभावक, दाता परिवार तथा शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गर्ने बताउनुभयो।
उहाँले आफूले पूर्व विद्यालयहरूमा हासिल गरेका अनुभव र असल अभ्यासलाई विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक विकासमा उपयोग गर्ने प्रतिबद्धता जनाउँदै विद्यालयको वर्तमान अवस्था र उपलब्ध स्रोत–साधनलाई आधार बनाएर गुणस्तरीय, समावेशी र प्रविधिमैत्री विद्यालय निर्माण मा केन्द्रित रहने उल्लेख गर्नुभयो।
कार्यक्रमका क्रममा विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा विधिसम्मत रूपमा जिम्मेवारी हस्तान्तरण सम्पन्न भएको र विद्यालय परिवारबीचको एकता तथा सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो। नयाँ नेतृत्वसँगै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र संस्थागत विकासले थप गति लिने अपेक्षा गरिएको छ ।











