एसियन गेम्स क्रिकेट छनौटको फाइनलमा नेपालले हङकङलाई हराउँदै बन्यो च्याम्पियन – Buletnews
एसियन गेम्स क्रिकेट छनौटको फाइनलमा नेपालले हङकङलाई हराउँदै बन्यो च्याम्पियन
  • बुलेट न्युज

काठमाडौं: सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धति अनुसार पराजित गर्दै उपाधि जितेको छ ।

सोमबार भएको फाइनल खेलमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित बनाएको थियो । लगातार वर्षाका कारण खेल पुनः सञ्चालन हुन नसकेपछि डीएलएस पद्धति अनुसार नेपाल विजयी घोषित भएको हो । उक्त समयमा नेपालको स्कोर डीएलएस पार स्कोर ९५ भन्दा १९ रनले अगाडि रहेको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले ४० बलमा ६५ रनको उत्कृष्ट इनिङ्स खेले । रोहित पौडेल ३५ रनमा तथा दीपेन्द्रसिंह ऐरी ९ रनमा अविजित रहे । हङकङका एहसान खान र आयुष शुक्लाले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । हङकङका लागि अंशुमन राथले ४५ बलमा ८० रन तथा शाहिद वासिफले २८ बलमा ५५ रनको योगदान दिए । शिव माथुरले २६ रन जोडे ।

नेपालका बलरमध्ये शेर मल्ल सर्वाधिक सफल रहे । उनले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे ।

नेपाल र हङकङ दुवै टोली अपराजित रहँदै फाइनल पुगेका थिए । वर्षाका कारण खेल प्रभावित नभएको भए नेपालले १८९ रनको लक्ष्य पूरा गर्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो सबैभन्दा ठूलो रन चेजको कीर्तिमान बनाउन सक्ने सम्भावना रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्