बाँके: महिलाहरूको महिनावारी स्वास्थ्य र स्वच्छता सम्बन्धी सचेतना बढाउने उद्देश्यले आयोजित महिनावारी झोला (फ्रीडम किट व्याग) बनाउने तालिम नेपालगन्जमा सम्पन्न भएको छ।
सामाजिक विकास डिभिजन बाँकेको सहयोग तथा दिदी बहिनी समाज बाँकेको आयोजनामा सम्पन्न उक्त तालिम नेपालगन्ज उपमहानगरपालिका–१० का किशोरी तथा महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको थियो।
तालिममा सेनेटरी प्याडको विकल्पका रूपमा पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड तथा महिनावारी झोला बनाउने सीप प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रम दिदी बहिनी समाज बाँकेको कार्यवाहक अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेपालगन्ज उपमहानगरपालिका–१० की वडा सदस्य बिना थापा मगर प्रमुख अतिथि थिइन्।
प्रमुख अतिथि थापा मगरले छोटो अवधिको तालिम भए पनि सहभागीहरूले उत्कृष्ट सीप प्रदर्शन गरेको भन्दै यस्ता कार्यक्रम गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताइन्।
सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख ऋषिराज शर्माले तालिम प्रभावकारी देखिएको उल्लेख गर्दै महिलाको स्वास्थ्य सुधारका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए।
कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह, प्रशिक्षक अनिता न्यौपानेलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।
७ दिनसम्म सञ्चालन भएको तालिममा २० जना महिलाहरूको सहभागिता रहेको थियो। तालिमको समापनमा सहभागीहरूले महिनावारी शिक्षा तथा व्यावहारिक सीप प्राप्त भएकोमा खुशी व्यक्त गरेका थिए। तालिममा अनिता न्यौपाने र पार्वती कडायतले प्रशिक्षण दिएका थिए।











