कोहलपुरको बागेश्वरी एकेडेमीमा तेक्वान्दोको ‘कुम्भ मेला’ हुँदै – Buletnews
नगर प्रमुख आचार्यद्वारा उदघाटन हुने
कोहलपुरको बागेश्वरी एकेडेमीमा तेक्वान्दोको ‘कुम्भ मेला’ हुँदै

प्रथम बागेश्वरी एकेडेमी जिल्ला स्तरीय खुला तेक्वान्दो च्याम्पियनसिपमा ५ सयभन्दा बढी खेलाडी सहभागी हुने

  • प्रमोद रिजाल

कोहलपुर, बाँके: बाँकेको कोहलपुर–१० स्थित बागेश्वरी एकेडेमी स्कुलम आगामी जेठ ३० र ३१ गते तेक्वान्दो खेलाडीहरूको उत्साह, प्रतिस्पर्धा र प्रतिभाले भरिने भएको छ। जिल्लाभरिका विभिन्न विद्यालय तथा तेक्वान्दो डोजाङहरूबाट ५ सयभन्दा बढी खेलाडीको सहभागिता रहने भएपछि आयोजना हुन लागेको प्रथम बागेश्वरी एकेडेमी जिल्ला स्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप लाई खेलकुद वृत्तमा ‘तेक्वान्दोको कुम्भ मेला’ का रूपमा हेरिएको छ।

जिल्लामा पहिलो पटक यति ठूलो संख्यामा खेलाडीहरूलाई एउटै मञ्चमा प्रतिस्पर्धा गराउने उद्देश्यसहित आयोजना गर्न लागिएको प्रतियोगिताले तेक्वान्दो खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतियोगिताबारे जानकारी दिन बिहीवार  विद्यालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक पक्षले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रतियोगितामा बाँके जिल्लाभित्रका विभिन्न विद्यालय, क्लब तथा डोजाङहरूका खेलाडीहरूले सहभागिता जनाउनेछन्। उमेर तथा तौल समूहका आधारमा विभिन्न विधामा प्रतिस्पर्धा सञ्चालन गरिनेछ।

आयोजक बिद्यालय बागेश्वरी एकेडेमीका सञ्चालक अध्यक्ष किशन गुरुङले विद्यालयले शैक्षिक उत्कृष्टतासँगै खेलकुद क्षेत्रलाई पनि उत्तिकै महत्व दिँदै आएको बताउँदै प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

उनले भने, “तेक्वान्दो केवल खेल मात्र होइन, अनुशासन, आत्मविश्वास, धैर्य र नैतिक मूल्यहरूको अभ्यास पनि हो। यस प्रतियोगितामार्फत खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै जिल्लामा स्वस्थ खेल संस्कृतिको विकास गर्ने हाम्रो उद्देश्य रहेको छ।”

गुरुङले प्रतियोगिता सफल बनाउन अभिभावक, खेलप्रेमी, स्थानीय समुदाय तथा सरोकारवाला निकायहरूको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै सबैलाई प्रतियोगितामा सहभागी भई खेलाडीहरूको उत्साहवर्द्धन गर्न आग्रह गरे।

पत्रकार सम्मेलनमा बोल्दै तेक्वान्दोका  खेलाडी तथा कोहलपुर नगरपालिकाका तेक्वान्दो  प्रशिक्षक बुद्धि थापाले प्रतियोगितामा झण्डै ५०० खेलाडीले ३२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने जानकारी दिए। प्रतियोगितालाई व्यवस्थित, छरितो र प्रभावकारी बनाउन विद्यालयको हाताभित्र तीनवटा कोर्ट (म्याट) तयार गरी एकैसाथ खेल सञ्चालन गरिने उनले बताए।

थापाका अनुसार प्रतियोगिताले जिल्लाका खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्नुका साथै प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगिताका लागि योग्य खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। “यस्ता प्रतियोगिताले खेलाडीहरूमा आत्मविश्वास बढाउने मात्र होइन, उनीहरूलाई भविष्यका ठूला प्रतियोगिताका लागि तयार पार्ने आधारसमेत निर्माण गर्छ,” उनले भने।

जिल्ला तेक्वान्दो संघ बाँकेले पनि बागेश्वरी एकेडेमीले तेक्वान्दो खेललाई प्राथमिकतामा राखी यति ठूलो प्रतियोगिता आयोजना गर्नु सकारात्मक कदम भएको जनाएको छ। संघका पदाधिकारीहरूका अनुसार विद्यालयस्तरबाट खेलकुदलाई प्रोत्साहन गर्ने यस्ता प्रयासले खेलाडीहरूको मनोबल उच्च बनाउनुका साथै जिल्लाको खेलकुद विकासमा दीर्घकालीन प्रभाव पार्नेछन्। तेक्वान्दो संघ बाँकेले प्राबिधिक सहयोग समेत गर्ने बताईएको छ ।

शिक्षा र खेलकुदलाई समानान्तर रूपमा अघि बढाउँदै आएको बागेश्वरी एकेडेमीले “संस्कारसहितको गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई व्यवहारमा उतार्ने क्रममा विभिन्न अतिरिक्त क्रियाकलाप र खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसै अभियानअन्तर्गत आयोजना हुन लागेको तेक्वान्दो च्याम्पियनसिपले विद्यालयको खेलमैत्री पहिचानलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ। खेलको  शनिवार बिहान ८ बजे कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यले उदघाटन गर्ने कार्यक्रम तय भएको बिद्यालयला संचालक अध्यक्ष किशन गुरुङले जनाएका छन ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा खेलाडीहरूको जोश, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताले कोहलपुरलाई खेलमय बनाउने अपेक्षा आयोजक बिद्यालयले लिएको छ। खेलकुदप्रेमीहरूका लागि समेत यो प्रतियोगिता उत्कृष्ट अवसरका रूपमा रहनेछ, जहाँ भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको प्रतिभा नजिकबाट अवलोकन गर्न सकिने जनाईएको छ भने खुल्ला जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको प्रेस मिटलाइ खेल संगित  शिक्षक गणेश बिष्टले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्