सीमामा एसएसबीको ज्यादती, सुस्ता छिर्दाको ‘कम्पन’ सिंहदरबारमा – Buletnews
सीमामा एसएसबीको ज्यादती, सुस्ता छिर्दाको ‘कम्पन’ सिंहदरबारमा

सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपाल र भारतबीच सीमा विवाद

  • बुलेट न्युज

बाँके: पश्चिम नवलपरासीको नेपाली भूमि सुस्तामा शुक्रबार बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गरेपछि त्यहाँ एकछिन अवस्था तनावपूर्ण रह्यो । स्थानीय जनता र एसएसबीका जवानहरूबीच भनाभन भयो । विवाद चर्किंदै गएपछि स्थानीय नेपाली लाठी/भाटासहित उत्रिए । त्यसपछि तर्सिएर एसएसबी भारतीय भूमितिरै लागे ।

घटनाका सम्बन्धमा बुझ्दा पश्चिम नवलपुरका प्रहरी प्रमुख एसपी रामकुमार केसीले शुक्रबार बिहान भारतीय एसएसबीको टोली गस्तीका क्रममा नेपाल आइपुगेको जानकारी दिए ।

“बिहान गस्तीका क्रममा पानी परेका कारण भारतीय टोली नेपालतिर प्रवेश गरेको भन्ने बुझिएको छ । त्यही बेला स्थानीयले विरोध जनाएका हुन् । केही समयपछि अवस्था सामान्य छ,” एसपी केसीले भने ।

शुक्रबार बिहान भारतीय एसएसबी हतियारसहित सुस्ता नदी तरेर नेपाली भूमिमा प्रवेश गरेका थिए । स्थानीय उनीहरूले तिनलाई रोक्दै आफ्नै भूमिमा फर्कन भनेपछि सुरुमा एसएसबीले अटेरी गरेका थिए । स्थानीयको संख्या बढ्दै झडपको स्थिति बन्न लागेपछि एसएसबी भारततिरै फर्केका थिए । एसएसबीलाई नेपाल प्रवेशमा रोक लगाउन भन्दै स्थानीयले प्रदर्शन समेत गरेका थिए ।

नेपालको सीमा सुरक्षा हेर्दै आएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले सीमा क्रस गरेर नेपाल आएका भारतीय एसएसबीको टोलीसित आन्तरिक छलफल भइरहेको जनाएको छ ।

“भारतीय सुरक्षा बलका केही साथीहरू हाम्रो सीमामा आएको देखिन्छ । हामीले उनीहरूसित छलफल गर्दैछौँ । के कारणले नेपाल प्रवेश गरे, त्यसबारे पनि कुरा भइरहेको छ,” सशस्त्र प्रहरी बलका एक अधिकारीले भने ।

सुस्तामा हतियारसहित नेपाल छिरेका एसएसबीलाई स्थानीयले आफ्नो ज्यान जोखिममा राखी लखेटेको खबर शुक्रबार केहीबेरमै सिंहदरबार पुगेको थियो । सुस्तामा एसएसबी छिर्दाको कम्पनले सिंहदरबारभित्र चलिरहेको प्रतिनिधिसभा बैठक एकछिन हल्लायो पनि ।

शुक्रबारको प्रतिनिधिसभामा नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले आकस्मिक समय माग्दै एसएसबी नेपाल प्रवेश गरेको विषय उठान गरेका थिए । उनले एसएसबी नेपाल पस्दा नेपाल सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरेका थिए ।

“नवलपरासी जिल्लाको सुस्ता क्षेत्रमा भारतीय सुरक्षा बल नेपाल प्रवेश गरी ठूलो समस्या सिर्जना भएको छ । नेपालका भूमिमा छिरेर गस्ती गरेको छ,” महरले भने, “स्थानीय एकजुट भई त्यसको प्रतिकार गरेका छन् । स्थानीयबासीले लखेटेका छन् ।”

उनले सीमाको विषय प्रतिपक्षीको मात्रै नभएको बताए । “नेपाल सरकार के हेरेर बसेको छ ? यो प्रतिपक्षको मात्रै विषय होइन । सिंगो नेपालको विषय हो,” महरको भनाइ थियो ।

उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सदनमा दिएको अभिव्यक्तिका कारण सीमा क्षेत्रमा समस्या भएको दाबी गरे ।

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले पनि प्रतिनिधिसभामा एसएसबी नेपाल प्रवेश गरेको प्रसंग उठाउँदै देशको रक्षामन्त्री को हो भनी प्रश्न गरेका थिए ।

भारतीय सीमा सुरक्षा बल नेपाल प्रवेश गरेर नेपालीलाई हप्कीदप्की गरेको भिडियो सार्वजनिक भएको भन्दै त्यसको जवाफ उनले मागेका थिए ।

“प्रधानमन्त्रीज्यू त यहाँ आउनुहुन्न । रक्षामन्त्री हुनुहुन्छ भने खोजेर तपाईं (सभामुख)ले ल्याइदिनुपर्‍यो । हामी प्रश्न सोध्छौँ उहाँलाई,” साम्पाङले भने । उनले सीमाको अवलोकन गर्न नेपाली सेनालाई पठाउनुपर्ने समेत जनाए ।

रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाह स्वयं सम्हालेका छन् ।शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउने क्रममा सुस्तामा भएको घटनाका बारेमा सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई प्रश्न गरिएको थियो ।

सरकारका प्रवक्ता पोखरेलले भने, “सुस्तामा बस्ने नेपाली नागरिकहरूले पहिलेदेखि नै भूमिलाई रक्षा गरेर बस्नु भएको छ । उहाँहरूलाई हामीले नमन गर्नुपर्छ । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्नेछ ।”

विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिका कारण सीमामा एसएसबीको ज्यादती बढेको आरोप लगाए । प्रधानमन्त्री शाहले जेठ १७ गते ‘भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि विपक्षी दलहरूले उतिखेरै आपत्ति जनाउँदै संसद्‌मा आएर बोली सच्याउन अनुरोध गरेका थिए । विपक्षी दलहरूले संसद् अवरुद्ध समेत गरेका थिए । तर, प्रधानमन्त्री शाह जवाफ दिन सदनमा गएनन् ।

जेठ १७ गते नै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइलाई स्पष्ट पार्दै विज्ञप्ति जारी गरेको थियो भने परराष्ट्रमन्त्री शिशिर खनालले जेठ २७ गते सदनमा गएर स्पष्टोक्ति दिएका थिए ।

के प्रधानमन्त्रीको अभिव्यक्तिले गर्दा एसएसबीको मनोबल बढेको हो ? भनि पत्रकारले गरेको प्रश्नमा सरकारका प्रवक्ता पोखरेलले भने, “प्रधानमन्त्रीको अभिव्यक्तिले गर्दा होइन, त्यो वर्षौं देखुन् सुस्तामा यस्तो समस्याहरू आउँदै गरेको थियो । यसमा सबैभन्दा बढी धन्यवाद सुस्तामा बस्ने नेपाली नागरिकहरूलाई दिनुपर्छ । उहाँहरूले दशकौँदेखि त्यो भूमिलाई संरक्षण गर्दै आउनु भएको छ ।”

एसएसबीले नेपाली भूमि सुस्तामा यस्तो बेला गतिविधि बढाएको छ जतिबेला प्रधानमन्त्री शाहले ‘भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यत्ति दिएका छन् ।

त्यतिमात्र होइन यस्तो बेला एसएसबीको ज्यादती बढेको छ, जतिबेला परराष्ट्रमन्त्री खनालले दिल्लीमा दुई देशबीच रहेका सीमा विवाद द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाई कूटनीतिक माध्यमबाट गर्ने सहमति गरेर फर्केका छन् ।

प्रधानमन्त्रीले सदनमा विवादास्पद अभिव्यक्ति दिएको भोलिपल्टै अर्थात् जेठ १८ गते एसएसबीको टोली नेपाल प्रवेश गरेका थिए । यसको १० दिनपछि शुक्रबार (जेठ २९ गते) हतियारसहित एसएसबीको टोलीको शुक्रबार बिहान सुस्ता क्षेत्रमा प्रवेश गरेका थिए ।

“सीमालगायत सबै द्विपक्षीय विषयमा छलफल गर्यौं । दुई देशको संयन्त्रले सीमामा काम गरिरहेको छ । कालापानी लिपुलेक हुँदै मानसरोवर जाने बाटो भारत र चीनले खोलेको भनेपछि हामीले कूटनीतिक नोट पठाएको हो । भारतले पनि जवाफ पठाएको हो । वार्ता र संयन्त्रहरूले सुल्झाउने भन्ने हो सीमा विवाद । संयन्त्रहरूले काम गर्न थालेका छन् । अन्य संयन्त्रलाई पनि एक्टिभेट गर्दै एउटा कूटनीतिक ढंगले समाधान गर्ने ढंगमा हाम्रो छलफल भएको छ,” जेठ २४ गते भारत भ्रमणबाट फर्कंदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री खनालले भनेका थिए ।

सीमा समस्याको विश्व इतिहास हेर्दा पनि समाधान गर्न लामो समय लाग्ने देखिएको उनले जनाएका थिए । भारतसँगको सीमा विवादमा आफ्ना अडानमा नेपाल स्पष्ट रहेको उनले बताएका थिए ।

“हामी ऐतिहासिक प्रमाणका आधारमा सीमाका विषयहरूलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सक्छौँ, सक्नुपर्छ भन्ने कुरा हामीले स्पष्टसँग राखेका छौँ,” परराष्ट्रमन्त्री खनालको भनाइ थियो, “वार्तामा बसेर आफ्ना कुराहरू स्पष्टसँग राख्न र आफ्ना तर्कहरूका आधारमा हरेक खाले समस्या समाधान गर्न उत्सुक छौँ, तयार छौँ भन्ने कुरा मैले भारतमा राखेँ ।”

४ मार्च १८१६ को सुगौली सन्धि, ११ डिसेम्बर १८१६ को पूरक सन्धि र १ नोभेम्बर १८६० र १८७५ लगायतका सन्धि सम्झौताका आधारमा नेपाल–भारतबीचको अन्तर्राष्ट्रिय सीमा निर्धारण भएको हो ।

सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपाल र भारतबीच सीमा विवाद छ । नेपाल–भारत सीमा १८८० किलोमिटर लामो छ, जसमध्ये १२४० किलोमिटर भूमि सीमा र ६४० किलोमिटर नदी खोलाको सीमा (तरल सीमा) छ ।

नेपाल–भारत सीमामा ६० सीमा नदी र खोलाहरू गणना गरिएको छ । लगभग २०० किलोमिटर लामो महाकाली नदी पश्चिमी सीमा हो र लगभग ८० किलोमिटर मेची नदी पूर्वी सीमा हो । २० किलोमिटर लामो नेपाल–भारत सीमा गण्डकी नदी (नरसाही–सुस्ता)मा छ । अन्य ५७ नदी र खोलाहरूले नेपाल–भारत सीमाको ३४० किलोमिटर ओगट्छ ।

अन्य ठाउँको सीमा समस्या सुल्झिए पनि नरसाही–सुस्ता र कालापानी क्षेत्रका प्रमुख विवाद समाधान हुन सकेका छैनन् । नेपाल र भारतबीचको ९८ प्रतिशत सीमामा समस्या छैन । तर, कालापानी–लिम्पियाधुरा १७ किलोमिटर र नरसाही–सुस्ता २० किलोमिटर (कुल लम्बाइको २ प्रतिशत) क्षेत्रमा रहेको सीमा विवाद भने हालसम्म सुल्झाउन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्