रिम्ना सामुदायिकदेखी त्रिवेणी चोकसम्म सडक कालोपत्र, स्थानीयमा खुशी – Buletnews
रिम्ना सामुदायिकदेखी त्रिवेणी चोकसम्म सडक कालोपत्र, स्थानीयमा खुशी

यस्ता योजनाले गाउँको मुहार फेरिँदै गएको भन्दै स्थानीयले थप पूर्वाधार विकासका कामलाई निरन्तरता दिन आग्रह

  • भुवन थापा

राप्ती सोनारी, बाँके: राप्ती सोनारी गाउँपालिका–९ ढकेरी अन्तर्गत रिम्ना सामुदायिकदेखि  त्रिवेणी चोकसम्मको सडक कालोपत्र भएपछि स्थानीयवासी खुशी भएका छन्। वर्षौंदेखि धुलो र हिलोको समस्याबाट हैरान स्थानीयले अहिले सहज र सुरक्षित आवतजावत गर्न पाएका छन्।

यस क्षेत्रमा विगतमा वर्षायाममा सडक हिलाम्मे हुने र हिँडडुल गर्नसमेत कठिन हुने अवस्था थियो। विद्यार्थीहरूलाई विद्यालय आउजाउ गर्न समस्या हुने, साइकल तथा साना सवारी साधन सञ्चालन गर्नसमेत कठिनाइ हुने गरेको स्थानीय बताउँछन्। तर सडक कालोपत्र भएसँगै ती समस्या अन्त्य हुन थालेका छन्।

स्थानीय समाजसेवी श्रीधर उपाध्यायले सडक स्तरोन्नतिले क्षेत्रको विकासमा नयाँ आयाम थपिएको बताउँदै भने, “पहिले बर्खायाममा बाटो हिलाम्मे हुँदा आवतजावत निकै कठिन थियो। अहिले कालोपत्र भएपछि स्थानीय बासिन्दा, विद्यार्थी तथा यात्रु सबैलाई सहज भएको छ। पछिल्लो समय राप्ती सोनारी–९ विकासको गतिमा अघि बढिरहेको छ।”

त्यस्तै स्थानीय मिना डाँगीले सडक कालोपत्र हुनुअघि धुलोको समस्याले दैनिक जीवन प्रभावित हुने गरेको स्मरण गर्दै भनिन्, “सडकमा गुड्ने सवारी साधनले उडाएको धुलो घरभित्रसम्म पुग्थ्यो। सुकाएका कपडासमेत धुलाम्मे हुन्थे। अहिले कालोपत्र भएपछि धुलोको समस्या हटेको छ र यात्रा पनि सहज बनेको छ।”

वडा कार्यालयका अनुसार उक्त सडकखण्डमा करिब १ हजार ८ सय मिटर सडक नालीसहित कालोपत्र गरिएको हो। चालु आर्थिक वर्षमा सङ्घीय सरकार, गाउँपालिका तथा वडा कार्यालयको समन्वय र बजेट व्यवस्थापनमा निर्माण कार्य सम्पन्न गरिएको वडा अध्यक्ष सोहनलाल चौधरीले जानकारी दिए।

उनले आवश्यकताका आधारमा उपलब्ध बजेटको उचित व्यवस्थापन गर्दै सडक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताए। “वडाभित्रका विभिन्न बस्तीमा सडक स्तरोन्नति, कालोपत्र, नाली निर्माण, कल्भर्ट निर्माण तथा ग्राभेलिङका कामहरू निरन्तर भइरहेका छन्। सबै क्षेत्रलाई सन्तुलित रूपमा विकास गर्ने लक्ष्यअनुसार काम अघि बढाइएको छ,” अध्यक्ष चौधरीले भने।

स्थानीयवासीले सडक कालोपत्रसँगै यातायात, शिक्षा, स्वास्थ्य तथा दैनिक जनजीवनमा सकारात्मक प्रभाव परेको बताएका छन्। विकास निर्माणका यस्ता योजनाले गाउँको मुहार फेरिँदै गएको भन्दै स्थानीयले थप पूर्वाधार विकासका कामलाई निरन्तरता दिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्